Skip to main content

Blogs

प्रवासी कामदारहरूमा कोभिड-१९ को प्रभाव

सन् २०१९ को अन्त्यतिरबाट शुरू भएको कोभिडले मानवीय जनजीवन अस्तव्यस्त तुल्याएको छ । विश्व स्वास्थ्य सङ्गठनले  विश्वव्यापी महामारी घोषणा गरेको कोभिड – १९ द्वितीय विश्व युद्धपछि मानवजातिको सबैभन्दा ठुलो चुनौती बनेको छ | 

शुरू भएको दुई वर्ष बितिसक्दा पनि कोभिड -१९ को प्रभाव निमिट्यान्न भइसकेको छैन, नयाँनयाँ वेभ आउने क्रम जारी नै छ | कोभिडले  विश्वको आर्थिक क्रियाकलापमा खलल पुर्‍यायो नै लाखौँ मानिसहरूको अकालमा ज्यान लियो र लिने क्रम जारी छ | मानिसहरूको जीविकोपार्जनमा  गहिरो असर पारिरहेको छ । रोजगारको सिलसिलामा आफ्नो जन्मथलो छोडेर बाहिरी मुलुक गएका हजारौँ प्रवासी कामदारहरू रोजगारी संकटमा छ भने सयौँ नेपाली दाजुभाई दिदीबहिनीले कोभिडका कारण विदेशमा ज्यान गुमाएका छन् । जोखिमपूर्ण अवस्थाको सामना गर्दै प्रवासिएका नेपाली श्रमिकहरूको अवस्था चिन्ताजनक छ । यस्तै कारणले चल पूँजीको मुख्य श्रोत रेमिट्यान्समा महामारीको प्रभाव अनुभव गर्न थालिएको छ, एकिन छैन यो प्रभाव कति लामो समयसम्म रहला? 

विकासोन्मुख राष्ट्रहरूमा रेमिट्यान्स आर्थिक क्रियाकलापका लागि मुख्य श्रोत हो । आफ्नो जन्मथलोबाट टाढा बसेर पनि आफ्नो देशसँग भावनात्मक र आर्थिक सम्बन्ध राखिरहने र घर खर्चका लागि पैसा पठाइरहने वर्गले अहिले हाम्रो देशको अर्थ व्यवस्था धानिरहेको छन्। विदेशमा कठिन श्रम खर्च गरेर आर्जन गरी आफ्नो घरपरिवारमा पठाउने पैसालाई सामान्य भाषामा रेमिट्यान्स भनिन्छ । 

नेपालको हकमा रेमिट्यान्स र जीविकोपार्जनकावीच घनिष्ट सम्बन्ध छ | नेपालले कुनै न कुनै माध्यबाट रेमिट्यान्स प्राप्त गर्ने गरेको इतिहास दुई सय वर्षभन्दा बढी पुरानो हो | आफ्नो मुलुक बाहिर गएर कमाएको पैसा आफ्नो जन्मथलो पठाउनु नयाँ कुरा हैन | पछिल्ला दशकहरूमा रेमिट्यान्स रेमिट्यान प्राप्त गर्ने घरलाई मात्र नभएर राष्ट्रकै लागि पनि अत्यन्तै महत्त्वपूर्ण श्रोत मानिदै आएको छ | 

नेपाली कामदारहरू भारत तथा खाडी मुलुकहरूमा काम गरिरहेका छन् । विगत ३ वर्षमा वैदेशिक रोजगार विभागले भारतबाहेक अन्य देशमा जानका लागि १० लाखभन्दा बढीलाई श्रम स्वीकृती प्रदान गरिसकेको छ । सन् २०१५ देखि यता करिव ३५,००० जना कामदारहरू दक्षिण कोरियामा श्रमका लागि प्रवेश गरिसकेका छन् | दैनिक एक हजारभन्दा बढी नेपाली श्रमिकहरू वैदेशिक रोजगारको सिलसिलामा देश बाहिर जान्छन् । कोभिड- १९ महामारीले यो संख्यामा पनि प्रभाव परिरहेको छ जसको सिधा असर रेमिट्यान्समा पर्छ | 

विदेशमै रहेका नेपालीहरुले काम पाइरहेका छैनन् भने कति त देश फिर्ता नै आइसकेका छन् । २० प्रतिशत भन्दाबढी नेपाली विदेशमा बेरोजगार बस्न बाध्य छन् । रेमिट्यान्स आर्जन गर्ने नेपाली श्रमिकहरूको पछिल्लो अवस्था सोचनीय छ | आधारभूत मानवीय आवश्यकताहरूमा समेत सम्झौता गरेर बसिरहनु परेको छ | घर फर्किने सम्म अवस्था नभएको हुँदा महिनौँसम्म विदेशमा अड्किएका उदाहरणहरू  हामीले प्रशस्तै पाएका छौँ । महामारीले गर्दा रोजगारीमा आएको समस्याले दीर्घकालीन असर पर्ने निश्चित छ ।